अवैध रुपमा लुकाई ल्याएको ६ वटा कछुवा सहित पक्राउ

काठमाडौं, १७ फागुन

            चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध रुपमा लुकाई ल्याएको व्ल्याक पाउण्ड प्रजातिको ६ वटा कछुवा सहित भारत पटना घर बताउने २३ वर्षीय फैजल आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७०१४ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार आलमले झोलामा लुकाई ल्याएको उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको हो ।

आलमलाई बरामद कछुवा सहित थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।