महिलालाई बन्धक बनाई हत्या गरेको अभियोगमा १ जना पक्राउ

काठमाडौं, २०७७ असोज २० गते

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जोरपाटी नयाँबस्ती बस्ने सिन्धुपाल्चोक कर्थली-३ घर भएकी ३६ वर्षीया पम्फा श्रेष्ठलाई बन्धक बनाई हत्या गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्ती गैरीटोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-११ बडगाउँ घर भएका विनय श्रेष्ठ भन्ने ३५ वर्षीय विनय माझीलाई घटनाको डेढ वर्षपछि सोमबार पक्राउ गरेको छ । ती महिलालाई २०७६ वैशाख ३० गतेदेखि कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटारस्थित रमेश श्रेष्ठको टहरोमा बन्धक बनाई २०७६ जेठ ५ गते हत्या गरी फरार रहेका उनलाई काठमाण्डौ महानगरपालिका-१४ नयाँबस्तीबाट पक्राउ गरेको हो । साथै विनयले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता समेत निकालेको अनुसन्धानबाट खुल्न आएको र विनयलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।