जुवातास खेल्ने ४९ जना नियन्त्रणमा

काठमाण्डौ, २७ कार्तिक             

           प्रहरीले छुटा छुट्टै घटनामा जुवातास खेल्ने ४९ जनालाई नगद ८ लाख ९३ हजार ३ सय ७० रूपैया सहित नियन्त्रणमा लिएको छ ।

          महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले यहि २६ गते १७:०० बजे काठमाण्डौ महानगरपालिका-४ पञ्चकन्या स्थित  लमजुङका अशोक थापाको कोठमा जुवातास खेलिरहेको अबस्थामा असोक थापा सहित ५ जनालाई नगद २१ हजार ३ सय ७५ रूपैया सहित नियन्त्रणमा लिएको छ । सोही समयमा लोसार पिपलबोटबाट  ललितपुरका विनय थापा मगर सहित ७ जनालाई नगद ३८ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको छ ।

             यसै गरी महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले यही २६ गते २१:०० बजे नागार्जुन नगरपालिका-३ हलचोकबाट सितापाईलाका सचित दुवाल सहित १० जनालाई नगद ३ लाख ६० हजार रूपैया सहित पक्राउ गरेको छ ।

                यसै गरी महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट खटिएको प्रहरी टोलीले किर्तिपुर नगरपालिका-६ चोभारबाट कौडा खेलिरहेको अबस्थामा चोभारका विजय श्रेष्ठ सहित १३ जनालाई नगद २ लाख ५८ हजार ३ सय ४५ रूपैया, एन आईसि एसिया बैंकको २ लाख २५ हजार र प्राईम बैंकको २ लाख बराबरको चोक सहित पक्राउ गरेको छ ।

              यसै गरि महानगरीय प्रहरी वृत्त बौद्धले आज बिहान ०१:०० बजे गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी पण्डित गाउँ स्थीत एक घरमा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँ बस्ने किशोर थापा सहित १४ जनालाई नगद २ लाख १५ हजार १ सय ७५ रूपैया सहित पक्राउ गरेको छ । सबै घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।