सानेपामा CCTV उदघाटन

काठमाण्डौ, ३२ जेष्ठ

            "समुदाय प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत ललितपुर महानगरपालिका वडा नम्बर २,३ र ४ का विभिन्न स्थानहरूमा  जडित CCTV आज एक कार्यक्रमका विच प्रतिनिधि सभाका सदस्य माननिय पम्फा भुसालको  प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भयो । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाको आयोजनामा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै प्रमुख अतिथि माननिय पम्फा भुसालले  CCTV क्यमेरा जडान कार्यको लागि सहयोग गर्ने सबै क्षेत्रलाई धन्यबाद दिदै CCTV क्यामेराले  घटना घटन सक्ने स्थितीलाई कम गर्ने र घटना घटेमा सफल अनुसन्धानको लागि महत्वपुर्ण हुने बताउनु भयो । सामुदायिक सेवा केन्द्रले विभिन्न क्षेत्रहरू संग समन्वय र सहकार्य गर्दै सुरू गरेको कार्य ललितपुर महानगरपालिकाको लागि नमुनाको रूपमा रहदै अन्य क्षेत्रमा पनि जडान गर्न सहयोग गर्ने बताउँनु भयो । देश संघियतामा गईसकेकाले स्थानीय तहमा विकास निर्माण, शान्ति सुरक्षा लागाएत कर्मचारी नियुक्तिको लागि स्थानिय सरकारलाई नै अधिकार दिई स्थानिय सरकारलाई बलियो बनाउनु पर्ने बताउनु भयो ।

            कार्यक्रमलाई सम्बोधन गर्नु हुदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकालाई सुरक्षित बनाउन  CCTV क्यामेरा ले महत्वपुर्ण भुमिका खेल्ने बताउदै आफुले महानगरलाई सुरक्षित बनाउन गत वर्षनै महानगर भित्र करिब १ हजार  स्मार्ट स्ट्रिट लाईट जाडानको लागि टेन्डर आह्वन गरिएपनि  विभिन्न कारणहरूले गर्दा जाडान गर्न नसकिएकोमा अब छिट्टैने महानगरभित्रका क्षेत्रहरूमा स्मार्ट स्ट्रिट लाईट संगै CCTV क्यामेरा समेत जोडिने बताउनु भयो । वडा नम्बर २,३ र ४ का क्षेत्रहरू भित्र गरिएको जडानकार्य पाईलट प्रोजेक्टको रूपमा  रहेको बताउँनु भयो । २ बर्ष सम्म क्यामेराको मर्मत सम्भार जडान गर्ने पक्षले गर्ने र त्यस पछिको ३ वर्ष मर्मत सम्भारको लागि बीमा गरिने कार्यको प्रशंसा गर्दै अन्य क्षेत्रमा पनि सोही अनुसार लागु गरिने बताउनु भयो ।

            कार्यक्रमका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सड्क पेटी भरी प्रहरी परिचालन गरेर समाज सुरक्षित हुन सक्छ भन्ने धारणाबाट माथि उठदै प्रविधि मैत्री बनाउन सकिएमा समाज सुरक्षित र कम खर्चिलो हुने बताउनु भयो । अदालतमा बयानको लागि साक्षीहरूलाई लादा कतिपय अबस्थामा साक्षीले आफ्नो बयान परिबर्तन गरि मुद्धालाई कमजोर बनाउने गरेको स्मरण गराउँदै CCTV क्यामेराको प्रमाण कहिलै परिवर्तन नहुने हुनाले निश्पक्ष प्रमाणको रूपमा पेश गर्न यो अपरिहार्य रहेको बताउनु भयो ।  अकाट्य प्रमाण, लामो समय सम्म सुरक्षीत राख्न सकिने तथा भएको कुरा यथार्थ देखाउने हुनाले  प्रहरीलाई सफल अनुसन्धान गर्न समेत सहयोग पुग्ने बताउनु भयो ।

            सामुदायिक सेवा केन्द्र सानेपाको सहकार्यमा महानगरपालिका, स्थानिय निकाय , चौधरी ग्रुप, एनसेल प्रा.लि लगाएतका विभिन्न निजि संस्थाहरु तथा व्यक्तिहरूको सहयोगमा  माहानगरपालिकाको वडा नम्बर २,३ ४ का करिब १० किलोमिटर क्षेत्रमा ४५ लाख को कुल लागतमा  ३० वटा क्यामेराहरू जडान गरीएको कार्यक्रममा जानकारी दिएको छ ।