अपराध न्यूनिकरणका लागि प्रहरी ब्यान्ड डिस्प्ले सहितको सचेतनामूलक कार्यक्रम सम्पन्न :

काठमाडौं, २० कात्तिक

            "१३ औ.  महानगरीय प्रहरी दिवश" को अवसरमा महानगरीय प्रहरी वृत्त महाराजगंज, सामुदायिक सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुको संयुक्त आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध न्यूनिकरणका लागि प्रहरी ब्यान्ड डिस्प्ले सहितको सचेतनामुलक प्रस्तुति कार्यक्रम काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित बिजी मलको प्रांगणमा महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ ।

            सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलको गमलामा पानी हाली कार्यक्रमको उद्‌घाटन गर्नुभयो । महिला विरुद्ध हुने अपराध न्यूनीकरणमा प्रहरीले सक्रिय भएर लागेको बताउँदै उहाँले आमनागरिक समाजमा शान्ति सुरक्षा कायम गर्न आफ्ना बालबालिकाको क्रियाकलाप ख्याल गरी कुनै घटना हुन गएमा समयमा नै प्रहरीलाई सूचना दिन आग्रह गर्नुभयो ।

 उहाँले समाज समृद्ध बनाउन समाजमा बस्ने सबैले समान रुपमा नियमको पालना गर्नुपर्ने बताउँदै आधुनिक प्रविधिको विकाससँगै आफ्ना बालबालिकाले बढ्दो प्रविधिको प्रयोग गरेका बारेमा अभिभावकले जानकारी राख्नुपर्ने बताउनुभयो ।

सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष शैलेश कार्कीको सभापतित्वमा सञ्चालित कार्यक्रममा महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्य व्यक्त तथा काठमाडौं महानगरपालिका २६ का वडाध्यक्ष खेमराज तिवारी, टोखा नगरपालिका १० का वडाध्यक्ष मधुसूदन पाण्डे, नागरिक अगुवाबाट रविनसिंह बस्नेत समेतले अपराध न्यूनीकरणका विषयमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 दिपावालीको अवसरमा शुभकामना समेत आदानप्रदान गरिएको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामा, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, नागरिक समाजका प्रतिनिधिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।