महानगरीय प्रहरी कार्यालयद्वारा चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक

काठमाण्डौ, ४ असोज

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले आज पत्रकार सम्मेलन गरी चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

          पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रहरी आयुक्त जय बहादुर चन्दले चाडपर्वमा उपत्यकाबाट बाहिरिने मानिसहरुको संख्या धेरै हुने हुँदा त्यहि मौकामा चोरी, डकैती, लुटपाटका घटनाहरु बढ्ने, पाकेटमारी, पेय पदार्थमा नशालु पदार्थ मिसाई खुवाउने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी हो-हल्ला तथा झै-झगडा गर्ने, कालोबजारी र अन्य अपराधिक क्रियाकलापहरुको बृद्धिलाई मध्यनजर गर्दै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा प्रहरी नायव महानिरीक्षकको कमाण्डमा, महानगरीय ट्राफिक प्रहरी महाशाखा, परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरमा प्रहरी वरिष्ठ उपरीक्षक तथा उपरीक्षकको कमाण्डमा ५४३७ जना प्रहरी परिचालन गरिएको बताउनु भयो । काठमाण्डौ भित्रने तथा बाहिरिने नाकाहरु र बस स्टेसनहरुमा यात्रु सहायता कक्षको स्थापना गरिएको साथै गुनासो सुन्न प्रहरी कन्ट्रोल-१०० र ट्राफिक कन्ट्रोल-१०३ मा सम्पर्क गर्न सकिने व्यवस्था रहेको समेत जानकारी गराउनु भयो ।        

          प्रहरीले बजार क्षेत्रहरुमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको तथा सामुदायिक प्रहरीलाई सक्रिय बनाउँदै सिसिटिभीबाट समेत निगरानी बढाईएको जानकारी दिनुभयो ।    

          दशैं, तिहार एवं छठ पर्वमा काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुहरुको लागि नागढुंगा, कलंकी, स्वयम्भु, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल, बल्खु गरी १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउँदै संभावित घटनाहरु कम गर्न जनचेतना मुलक कार्यक्रमहरुलाई संचार माध्यमहरुले प्रसारण गरी सहयोग गरिदिनु हुन समेत आग्रह गर्नुभयो ।